नवरात्रीको तेस्रो दिन चन्द्रघण्टाको पूजा र साधनाको फल


यस दिन ‘चन्द्रघण्टा’स्वरूपा दुर्गा भवानीको पूजाआराधना गरिन्छ। उनको मस्तकमा घण्टीको आकार जस्तै अर्धचन्द्र भएकाले चन्द्रघण्टा नाम रहन गएको हो। चन्द्रघण्टालाई विशेषगरी दूधका परिकार चढाइन्छ। उनलाई वैज्ञानिक दृष्टिले सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ। यस दिन चार वर्षकी कन्यालाई ‘कल्याणी’ देवीको रूपमा पूजा गरिन्छ भने विशेष रूपमा चन्द्रघण्टालाई ऐना, सिन्दुर, गाजल लगायत सामग्री चढाइन्छ।


पिण्डजप्रवरारुढा चन्डकोपास्त्रकैर्युता ।
प्रसादं तनुते मह्यं चन्द्रघण्टेती विश्रुता ।।


दुर्गादेवीको तेस्रो रुप चन्द्रघण्टा हो । दुर्गादेवीको स्वरुपका आधारमा चन्द्रघण्टा नामाकरण भएको पाइन्छ शिरमा अर्धचन्द्रको धारण गर्ने र समग्र शिरको स्वरुप घण्टाजस्तो भएको हुनाले चन्द्रघण्टा भनिएको हो । चन्द्रघण्टा देवीको शरीरको रंग सुनको जस्तो पँहेलो देदीप्यमान छ । दशभुजा भएकी चन्द्रघण्टा देवीको वाहन सिंह हो । सदैव युद्ध मुद्रमा देखिने नन्द्रघण्टा देवीले मानवमा रहेको अत्याचारी,दानवी र राक्षसी प्रवृतिलाई विनाश गर्नुहुन्छ । नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधना हुने गर्दछ ।


नन्द्रघण्टाको साधना


साधकले यो दिन मणिपुर चक्रको ध्यान गर्दा सावधान रहनु पर्दछ । किनभने अलौकिक र अप्राप्य, अदर्शनीय अवस्थाको विषयवस्तु लौकिक प्राप्य र दर्शनीय हुन्छ । अनेकौं मनमोहक सांगीतिक मधुरिम ध्वनी सुनिन्छ । साधक यस्ता विषयमा अनुरक्त भएनन् भने साधना सफल हुन्छ । त्यसपछि चन्द्रघण्टा देवीबाट कृपा प्राप्तभई समस्त पापबाट मुक्ति मिल्दछ । भगवतीले साधकहरुलाई दुःख कष्टबाट शीघ्र हटाएर निडर र निर्भय प्रदान गर्नुहुन्छ । सद्योमुक्तिका लागि पनि माता दुर्गाजीको यो रुपको उपासना गर्ने गरिन्छ ।
सदैव युद्धाभिलाषी जस्ती देखिए पनि माता दुर्गाको चन्द्रघण्टा रुपलाई भक्तजनले सामान्य शान्त ,करुणामय, मातृरुपमा दर्शन गर्दछन् । संगीत क्षेत्रमा साधनारत व्यक्तिहरुका लागि अलौकिक स्वर,ज्ञान र सफलता प्राप्त गर्न यो रुपको ध्यान अति नै लाभदायी रहन्छ । माता चन्द्रघण्टाको स्वरुपको ध्यान र पूजा गर्नाले जीवन–मरणबाट मुक्त भई पुनर्जन्मको प्रपञ्चबाट सहज छुट्कारा मिल्दछ । ललाटमा अलौकिक चमक बढ्न थाल्दछ । मान सम्मान मिल्न थाल्दछ ।

कुनै प्रतिकृया प्राप्त भएको छैन
यस लेखको बारेमा केहि भन्नु छ? तपाईंको टिप्पणी थप्नुहोस् र छलफल सुरु गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *