नवरात्रीको पाचौं दिन ‘स्कन्दमाता’को पूजा र साधनाको फल


सिंहासनगता नित्यं पद्माश्रितकरद्वया ।
शुभदास्तुसदा देवी स्कन्दमाता यशस्विनी ।।


यस दिन ‘स्कन्दमाता’स्वरूपा दुर्गा भवानीको पूजापाठ गरिन्छ । शिव–पार्वती पुत्र कुमारको अर्को नाम स्कन्द हो। तसर्थ, पौराणिक मान्यताअनुसार स्कन्द या कार्तिकेयकी माता स्कन्दमाता हुन्। स्कन्दमाता भवानीको उपासना गर्नाले सबै प्रकारका इच्छापूर्ति हुने मान्यता छ। स्कन्दमातालाई वैज्ञानिक दृष्टिले आकर्षण शक्तिको स्वरूप मानिन्छ। यस दिन ६ वर्षकी कन्यालाई ‘कालिका’ नामले पूजा गरी विशेष रूपमा साडी, ओढ्ने आदि वस्त्र चढाउने विधि छ ।


तारकासुरले कठोर तप गरेर ब्रह्माजीसङ्ग शिवजीका पुत्रको हातबाट मृत्युको वर प्राप्त गरेको थियो, जसले गर्दा तारकासुर एक प्रकारले अमर जस्तै भएको थियो । दैत्यराजको कारण तीनै लोक त्रसित भएको थियो, तारकासुरले सबै देवताहरूलाई स्वर्गबाट निष्कासित गरेर भगायो र स्वयं नै समस्त भोगलाई भोग्न थाल्यो र सतिको मृत्यु पश्चात् भगवान् शिवजी निरासक्त भएर संधै नै ध्यान मग्न रहन थाल्नुभयो, सतीले पुनः पार्वतीको रूपमा हिमालयको घरमा लिएपछि पनि भगवान् शिवजीले आफ्नो योग तथा साधनाको त्याग गर्नुभएन र अन्ततः माता पार्वतीको कठोर साधनाको फलस्वरूप शिवजीले आफ्नो योग एवं साधनाको त्याग गर्नुभयो र अन्ततः पार्वतीसंग विवाह भयो तत्पश्चात यिनै दम्पतिको सन्तान कुमार कार्तिकेय भए । ७ वर्षकै अल्प आयुमा कुमार कार्तिकेयले असुर पति तारकासुरको वध गर्नुभयो त्यसै समयदेखि सबै देवताहरूको सेनापति हुनुभयो ।


साधनाको फल


साधकहरुले कुण्डलीजागरणको यो अवस्थामा पनि विशेष सावधान रहनु पर्दछ । मनलाई विशुद्ध चक्रमा स्थिर गराएर शुक्लवर्णा स्कन्दमातालाई ध्यान गर्नु पर्दछ । भगवती स्कन्दमाताको आराधनाले यस लोकमा संसारिक भोगको प्राप्त गर्न सकिन्छ । मानवलाई चाहिने सम्पूर्ण सुख सम्पन्नता आर्थिक उन्नति प्राप्तिका लागि नवरात्रको पाँचौ दिन स्कन्दमाताको ध्यान साधना गर्ने गरिन्छ । यस साधनाको फलस्वरुप दिव्यदृष्टि,सम्मोहन कलाको विकास , भविष्यको पूर्वाभाष हुने जस्ता गुणहरुको विकास हुदै जान्छ । त्यसकारण नवरात्रको पाँचौ दिन आदिमाता दुर्गाजीको स्कन्दमाता स्वरुपको ध्यान गर्नुपर्दछ ।

कुनै प्रतिकृया प्राप्त भएको छैन
यस लेखको बारेमा केहि भन्नु छ? तपाईंको टिप्पणी थप्नुहोस् र छलफल सुरु गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *