नवरात्रीको छैंठौं दिन कात्यायनी पूजा र साधनाको फल


चन्द्रहासोज्वलकरा शार्दूलवरवाहना ।
कात्यायनी शुभं दद्याद्देवी दानवघातिनी ।।


महिषासुर नामको दैत्यले एक समयमा देवताहरूलाई आक्रमण गरेर स्वर्गबाट बाहिर निकालिदियो र तीनै लोकमा अत्याचार गर्नथाल्याे । ब्रह्माजीको कठोर तपस्या गरेर दैत्य राजाले वरदान प्राप्त गरेकी उसको मृत्यु कुनै स्त्रीको हातबाट मात्र हुन सकोस् । ब्रह्मा, विष्णु, शंकर, ईन्द्र, यम, वरुणआदि समस्त देवताहरूले आफ्नो आफ्नो तेजको अंशबाट एक शक्तिलाई उत्पन्न गराए र उनै शक्तिलाई आफ्नो आफ्नो नाना प्रकारका अस्त्र शस्त्र युक्त शक्तिहरू प्रदान गर्नुभयो । महर्षि कात्यायनले नै सर्वप्रथम यिनै देवीको पूजा गर्नुभएको थियो, परिणामस्वरूप वहाँको नाम कात्यायनी रहन गयो र पछि महिषासुरलाई वध गरेपछि देवीको महिषासुरमर्दिनी दुर्गा नाम प्रसिद्ध भयो । आश्विन कृष्णचतुर्दशीको दिन वहाँको प्रादुर्भाव भयो र त्यसपछि शुक्ल सप्तमी, अष्टमी, नवमी यिनै तीन दिनमा महर्षि कात्यायनले देवताहरूको तेज पुञ्जबाट प्रकट भएको त्यो दिव्य शक्तिको विधिवत् पूजा आराधना गर्नुभयो र अन्ततः दशमीको दिन देवीले महिषासुर दैत्यको वध गर्नुभयो ।

कात्यायनीको स्वरूप अत्यन्त नै दिव्य एवं भव्य छ, ब्रज मण्डलकी अधिष्ठात्री देवी कात्यायनी भगवान् श्रीकृष्णको पतिको रूपमा गर्नको लागि ब्रजका गोपिनीहरूले कात्यायनी देवीको आराधना गरेका थिए । नवरात्रको छैटौं दिन अर्थात् षष्ठी तिथि यिनै कात्यायनीलाई समर्पित छ । कात्यायनी माताको श्रद्धा एवं भक्तिले गरेको पूजा एवं पाठका प्रभावले अविवाहिताहरूको यथाशीघ्र विवाह हुने र उपासना गरे एकदमै सरलता पूर्वक अर्थ, धर्म, काम तथा मोक्षलाई प्राप्त गर्न सकिन्छ र जन्म जन्मान्तरको पाप नष्ट हुने शास्त्रोक्त कथन रहेको छ । कात्यायनीलाई विशेष गरी गुलियो परिकारहरू प्रिय छन् ।

साधनाको फल

साधनमा विशिष्टता हासिल गर्न चाहने साधकहरुको लागि कात्यायनी माताको ध्यान चक्रहरुको राजा आज्ञा चक्रमा स्थिर गर्नु पर्दछ । कुण्डलीनी साधनामा लागेका साधकहरुले आफ्नो पुरुषार्थ चतुष्टय –धर्म,अर्थ,काम,मोक्ष) को दाता भोक्ता,भर्ता,र हर्ता कात्यायनीलाई नै मान्दछन् भने त्यस्ता साधकहरुको रोग,शोक,भय,अहंकार, विनाश हुन्छ, परमपद प्राप्त गर्दछन् ।

कुनै प्रतिकृया प्राप्त भएको छैन
यस लेखको बारेमा केहि भन्नु छ? तपाईंको टिप्पणी थप्नुहोस् र छलफल सुरु गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *