नवरात्रीको आठौं दिन महागौरीको पूजा र साधनाको फल

श्वेते वृषे समारुढा श्वेताम्बरधरा शुचि : ।
महागौरी शुभं दद्यान्महाकाव्यप्रमोददा ।।


नवरात्रको आठौँ दिन महागौरी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो आठौँ स्वरूपमा महागौरीको नामले प्रसिद्ध हुनुहुन्छ । पौराणिक कथा अनुसार वहाँको आयु आठ वर्षकी बालिकाको जस्तै छ, वहाँको स्वरूप अत्यन्त मनोहर, सुन्दर तथा दिव्य छ, देवी महागौरी शंख, चन्द्र इत्यादि जस्तै पूर्णतः गौर वर्णकी हुनुहुन्छ ।

पौराणिक कथा अनुसार देवी महागौरी नाना प्रकारको दिव्य आभूषण धारण गरेकी, चार भुजाहरूले युक्त हुनुहुन्छ देवी महागौरी दाहिने भुजामा त्रिशूल तथा अभय मुद्रा प्रदर्शित गर्नुभएको, बायाँ भुजामा देवी वरद मुद्रा प्रदर्शित गरेकी तथा डमरू धारण गर्नुभएको छ । देवीको वाहन वृषभ अर्थात् साँढे हो। त्यसैले देवी महागौरी वृषभमा सवारी गर्नुहुन्छ । यिनै देवीले नारद मुनिद्वारा उपदेश दिंदा, भगवान् शिवजीलाई पतिको रूपमा प्राप्त गर्नको लागि कठोर तपस्या गर्ने प्रतिज्ञा गर्नुभएको थियो । आफ्नो दुष्कर तपको कारण देवी पार्वतीको शरीर कालो भएको थियो,वँहाको जस्तो महान् तथा उग्र तप न कसैले आजसम्म गरेको थियो न कसैले गर्न सक्छ यस्तो स्वयं ब्रह्माजीले देवीलाई भन्नुभएको थियो । देवीको तपस्याबाट सन्तुष्ट भएका भगवान् शिवजीले गंगाको पवित्र जलबाट वहाँको शरीरलाई खूब मजाले धुनुभयो, जसको कारण विद्युतको प्रभा जस्तै देवी कान्तिमान् गौर वर्णकी हुनुभयो ।

नवरात्रको आठौँ तिथि अर्थात् अष्टमी यिनै महागौरीलाई समर्पित छ, दुर्गाजीको महागौरी रूपको साधना एवं पूजा गर्ने गरिन्छ । देवीको उपासना साधकको लागि पूर्ण रूपले कल्याणकारी रहेको छ, पूर्व जन्मको पापबाट मुक्ति मिल्ने,अविवाहिता हरूको विवाह हुने, दीन दुःखीको कष्ट निवृत्त हुने, साधक अक्षय पुण्यको अधिकारी बन्ने र असम्भव जस्ता कार्यहरूलाई सम्भव बनाउने शक्ति महागौरीमा रहेको छ भने देवीको कृपाले अलौकिक सिद्धिहरू प्राप्त हुने शास्त्रोक्त वचन रहेको छ । महागौरीलाई विशेष गरी रातो फूल तथा सबै प्रकारको सुगन्धित पुष्पहरू प्रिय छन् भने नरिवल तथा गुलियो परिकारहरु अधिक प्रिय छन् । कालरात्रिलाई वैज्ञानिक दृष्टिले प्रकाश शक्तिको स्वरूप मानिन्छ । अस्तु । ।

साधनाको फल

महागौरीको उपासना साधना गर्नाले विशिष्ट अपरिवर्तनीय जीवनोपयोगी प्रभाव पर्दछ । जस्तै पाप गरेको व्यक्तिले पनि विधिविधानपूर्वक आराधना उपासना गर्दछ भने उसका पाप नष्ट भएर जान्छन् । सबै खालका सपलता प्राप्त गर्दछ । नवरात्रको अष्टमीका दिन अष्टसिद्धि प्राप्त हुने सम्भावना अधिक हुन्छ । साधकले आफ्ना सम्पूर्ण ईन्द्रियलाई आफ्नो नियमानुसार चलाउन सक्ने बन्दछ । सम्मोहन विद्यामा साधनक पूर्णतया निपुण हुने गर्दछ । यसरी महागौरी ध्यान गर्नुपर्दछ ।

कुनै प्रतिकृया प्राप्त भएको छैन
यस लेखको बारेमा केहि भन्नु छ? तपाईंको टिप्पणी थप्नुहोस् र छलफल सुरु गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *