शिवजीलाई प्रसन्न गर्नका लागि महत्त्वपूर्ण कार्य अन्तर्गत रुद्राभिषेकलाई लिईन्छ । भगवान् शिव अाशुतोष हुनुहुन्छ । आशुतोष भनेको छिट्टै नै भक्तको भक्तिभावबाट खुसी हुन सक्नु हो । अतः भगवान शिवजीलाई रुद्राभिषेकबाट नै छिट्टै खुसी बनाउन सकिने मान्यता रहिआएको छ । विभिन्न वैदिक ग्रन्थहरुमा शिवजीलाई प्रसन्न गर्नका लागि रुद्राभिषेकदेखि अन्य कुनै विधि नभएको कुरा उल्लेख छ ।
अतः शिवजीको पूजाआराधना गर्नका लागि रुद्राभिषेकको महत्ता महत्वपूर्ण छ । यो छिट्टै नै आफ्नो मनोकामना सिद्ध गर्नका लागि अति उपयोगी रहेको उपर्युक्त तथ्यबाट पनि स्पष्ट हुन्छ । अतः शिवजीको पूजामा रुद्राभिषेक अग्रणी रहेको छ । अझै यसको महत्व शिवरात्रीको अवसरमा विशेष रहेको छ ।
रुद्राभिषेकबाट हुने फाईदाहरु
रुद्राष्टाध्यायीद्वारा रुद्राभिषेक गर्नाले धर्म,अर्थ,काम, र मोक्ष प्राप्त गर्न सकिन्छ । साथै विभिन्न रोगबाट पनि छुटकारा पाइन्छ भन्ने मान्यता रहेको छ । संसारमा यस्तो कुनैपनि वस्तु छैन, जहाँ रुद्राभिषेकबाट प्राप्त गर्न नसकियोस् भनेर शिवपुराणमा लेखिएको छ । दुर्लभभन्दा दुर्लभ वस्तुपनि एक पटक मात्र रुद्राभिषेक श्रवण गर्नाले पाइन्छ भन्ने सन्दर्भ शिव महापुराणमा चर्चा गरिएको छ । यसै सन्दर्भमा अन्य मन्त्रले धोका दिन सक्छन् , तर रुद्राभिषेकले दिदैन भन्ने कुरा पनि उल्लेख भएको पाइन्छ ।
तपाई कुनै उद्देश्य पूर्तिका लागि रुद्राभिषेक गर्दै हुनुहुन्छ भने शिवपुराणमा उल्लेख भए अनुसार निम्न कुराहरुको जानकारी राख्नु आवश्यक हुन्छ ।
कहाँ गर्नु पर्दछ रुद्राभिषेक ?
– वर्षा चाहनुहुन्छ भने जलले रुद्राभिषेक गर्नुपर्दछ ।
– रोग र दुःखबाट छुटकारा पाउनका लागि कुशजलले रुद्राभिषेक गर्नुपर्दछ ।
– घर,वाहन वा पशु आदि पाउने इच्छा भए दहिले रुद्राभिषेक गर्नुपर्दछ ।
– लक्ष्मीप्राप्ति र ऋणबाट छुटकारा पाउनका लागि उँखुको रसबाट रुद्राभिषेक गर्नुपर्दछ ।
– धनवृद्धिका लागि पानीमा मह मिलाएर रुद्राभिषेक गर्नुपर्दछ ।
– मोक्ष प्राप्तिका लागि तीर्थबाट ल्याएको जलले रुद्राभिषेक गर्नुपर्दछ ।
– विमारी नष्ट गर्नका लागि पानीमा सुगन्ध (इत्र) मिलाएर रुद्राभिषेक गर्नुपर्दछ ।
– पुत्रप्राप्ति,रोगशान्ति तथा मनोकामनाहरु पूर्ण गर्नका लागि गाईको दुधबाट रुद्राभिषेक गर्नुपर्दछ ।
– ज्वरो ठीक गर्नका लागि गंगाजलले रुद्राभिषेक गर्नुपर्दछ ।
– सद्बुद्धि र ज्ञानवर्धनका लागि दुधमा चिनी मिलाएर रुद्राभिषेक गर्नुपर्दछ ।
– वंश वृद्धिका लागि घ्यूले रुद्राभिषेक गर्नुपर्दछ ।
– शत्रुनाश गर्नका लागि सरस्यूँको तेलले रुद्राभिषेक गर्नुपर्दछ ।
– पापहरुबाट मुक्ति पाउनका लागि शुद्ध महले रुद्राभिषेक गर्नुपर्दछ ।
कुनै मन्दिर मा गएर रुद्राभिषेक गर्नु निकै उत्तम हुन्छ ।
– नदि किनारको मन्दिर जहाँ गर्भगृहमा शिवलिंग स्थापना गरेको छ त्यस्तो ठाउँमा रुद्राभिषेक गर्नु राम्रो मानिन्छ ।
– घरमा पनि रुद्राभिषेक गर्न सकिन्छ ।
नोट :- ध्यान राखौं रुद्राभिषेक गर्दा तामाको पात्रलाई छोडेर अन्य धातुका कुनैपनि पात्रहरु प्रयोग गर्न सकिन्छ । तामाको पात्रमा दुध,दही, अथवा पञ्चामृत आदि राख्नु हुँदैन । तामाको पात्रमा जलको अभिषेक त हुनसक्छ तर तामा र दुध एक स्थानमा हुँदा विष बन्न सक्ने हुँदा तामाको पात्रमा दुधको अभिषेक वर्जित छ ।
–ज्यो.जनार्दन न्यौपाने