औंसी जन्मफल
:- औंसीमा जन्मनाले बाबुआमालाई दरिद्र बनाउँछ र जातकको जीवन पनि अति नै संघर्षमय हुन्छ।

शान्ति विधि: विधिवत कलश स्थापना गरेर औंसीका देवता सूर्य र चन्द्रमाको तामा र सुनको प्रतिमा बनाई थालीमाथि स्थापना गरेर “सविता…..इत्यादि” र “आप्यायस्व ………इत्यादि” मन्त्रले दुवै मूर्तिको विधिवत पूजा गरी “सवितृ” र “सोमोधेनु” मन्त्रले हवन गर्नुपर्छ।

कृष्णचतुर्दशी जन्मफल :- चतुर्दशीको घडीलाई ६ भाग लगाउने। पहिलो भागमा शुभ, दोस्रोमा पितृकष्ट, तेस्रोमा मातृकष्ट, चौथोमा मातुलकष्ट, पाँचौंमा वंशपीडा र छैटौंमा धननाश एवं आत्मविनाश हुन्छ।

शान्तिविधि :- तीन आँखआ भएको, साँढेमाथि बसेको शिवजीको सुनको सुन्दर मूर्ति बनाई “त्र्यम्बकं यजामहे………” भन्ने मन्त्रले पूजा गरी नवग्रहको १०८ हवन र पुरुषसूक्त पाठ गर्नाले शुभ हुन्छ।
भद्रा, व्यतीपातयोग, तिथिक्षय र यमघण्टको जन्म पनि अशुभ हुन्छ।

शान्तिविधि :- ग्रह र शिवपूजा गरेर वर र पिपलको प्रदक्षिणा गरी विष्णुको मन्त्रले १०८ हवन गर्नुपर्छ।

एकनक्षत्रजन्मफल :- बाबु, आमा वा दाजु, दिदिको नक्षत्रमा जन्म भएमा दुइमध्ये एकलाई मृत्युतुल्य कष्ट गराउँछ। यस्तोमा शुभ दिन विचार गरी विधिवत कलशस्थापना गरी सुनको नक्षत्ररुपी मूर्ति बनाई पूजागरी १०८ हवन गरी कलशको जलले बाबुआमा र सहोदर समेतलाई अभिषेक गर्नुपर्छ। संक्रान्तिमा जन्मने व्यक्ति दु:खी, दरिद्री हुने भएकाले निम्न अनुसार शान्ति गर्नुपर्छ।

शान्तिविधि :- घरको पूर्वपट्टि गोवरले लिपेर ३ ठाउँमा धान चामल राखेर त्यसमाथि कलश स्थापना गरी सूर्य, चन्द्र र संक्रान्तिको ३ ओटा सुनको मूर्ति त्यसमाथि स्थापना गरी बीचमा संक्रान्तिको विधि पूर्वक पूजा गर्ने र मृत्युञ्जय मन्त्रले १००८ जप गर्नुपर्छ अनि मृत्युञ्जय मन्त्रले कम्तिमा २८ पटक हवन गर्नुपर्छ।

ग्रहणजन्मफल :- सूर्य-चन्द्र ग्रहणमा जन्म भएको बालक दु:खी, दरिद्री तथा रोगी हुन्छ।

शान्तिविधि :- जुन नक्षत्रमा ग्रहण परेको छ त्यस नक्षत्रको र सूर्य ग्रहण भए सुनको र चन्द्र ग्रहण भए चाँदीको मूर्ति र राहुको शिशाको मूर्ति बनाई सूर्यलाई रातो, चन्द्रमालाई सेतो (नक्षत्रेशलाई समेत) र राहुलाई कालो वर्णको अक्षता, फूल आदिले पूजा गर्नुपर्छ।

गण्डान्त जन्मफल एवं शान्तिविधि:

तिथिगण्डान्त :- पञ्चमी, दशमी र पूर्णिमाको अन्तिमको २ घडी र परेवा, षष्ठी र एकादशीको सुरुको २ घडी

 

नक्षत्रगण्डान्त :- रेवती, अश्लेषा र ज्येष्ठाको अन्तिम २ घडी र अश्विनी, मघा र मूलको सुरुको २ घडी।

लग्नगण्डान्त :- मीन-मेष, कर्कट-सिंह र वृश्चिक-धनुको सन्धिको १ घडी लग्नगण्डान्त हुन्छ।
(यी तीनै गण्डान्तजन्म तथा यात्रादिमा मृत्युप्रद हुन्छ।)

शान्तिविधि :- गण्डान्त शान्ति सुतकको अन्तिम दिन वा शुभ दिनमा बाबुले गर्नुपर्छ। शान्ति नगरुञ्जेल बाबुले बालकको मुख हेर्नुहुँदैन । तिथि गण्डान्तमा बाच्छो, नक्षत्र गण्डान्तमा बाच्छी र लग्न गण्डान्तमा सुन दान गर्नुपर्छ। गण्डान्तको पूर्वार्धमा बाबु र परार्धमा परे आमाका साथमा बालकको अभिषेक गर्नुपर्छ। जुन गण्डान्त परेको छ त्यस अनुसारको सुनको प्रतिमा बनाई पूजा र हवन पनि गर्नुपर्छ।

मूलगण्डान्त एवं शान्ति :- ज्येष्ठाको अन्तिम ५ घडी र मूलको सुरुको ८ घडी अभुक्त मूल हुन्छ। अभुक्त मूलमा बच्चाको जन्म भएमा ८ वर्षसम्म बाबुले मुख हेर्नु हुँदैन किनकि अभुक्त मूल महाविघ्नकारी हुन्छ।

शान्तिविधि :- मूल शान्ति १२ औं दिन, शुभ दिन वा अष्टम वर्षको अन्तमा गर्नुपर्छ। आफ्नो घरको पूर्व वा उत्तरपट्टि मण्डप बनाएर यज्ञविधि अनुसार नक्षत्रेशको सुवर्णमूर्ति कलशमाथि राखेर पूजा गर्ने । इन्द्र र वरुणको पनि पूजा गर्ने। १००० छिद्र भएको सहस्रधार(चाल्नो॒) समेत कलश स्थापना गरी दुवै कलशको जलले अभिषेक गर्ने। मृत्युञ्जय मन्त्रको जप गर्ने र दुवै कलशको जलले स्नान पनि गराउने।ज्येष्ठा गण्डान्तको शान्ति पनि मूल गण्डान्तजस्तै गरी गर्नुपर्छ। तर यसमा प्रधान देवता इन्द्र, अधिदेव अग्नि र प्रत्यधिदेव राक्षस हुन्छ। खास गरी ज्येष्ठामा केटा-केटीको विवाहको समयमा विशेष रुपले शान्ति गर्नुपर्छ।

ज्योतिषीय परामर्शको लागि

जन्म कुन्डली

अनलाइन प्रश्नोत्तर

विवाह मिलान