राशिअनुसार रङ्गको प्रयोग

राशिअनुसार कार्यालय तथा घरमा घरमूली, कार्यकारी प्रमुख या शेयर सहभागी सदस्यहरुको राशिअनुसार रङ्गको छनौट गर्न सकिन्छ। निवासस्थान, प्रमुखद्वार, बैठककोठाआदिमा वास्तुशास्त्रअनुसार विचार पुर्याएर रङ्ग लगाउँदा कार्यमा सफलता, काममा उत्साह र उमङ्ग बढ्दछ।

मेष र वृश्चिक

यी राशिको स्वामी मंगल भएको हुनाले मंगल ग्रहको रङ्ग रातो, मिश्रित, गुलावी, सिलवर, हल्का फुस्रो हुन्छ र यस्ता रङ्ग शुभदायक रहन्छन्। कार्य व्यवसाय र प्रमुख व्यक्तिको राशिअनुसार यो रङ्गको प्रयोग गर्न सकिन्छ।

वृष र तुला

यी राशिको स्वामी ग्रह शुक्र हो। शुक्र ग्रहको रङ्ग भनेको सेतो, उज्यालो, घिउ, खैरो, फुस्रो, सिलवर र हल्का सेतो हो। व्यवसाय, कार्य र प्रमुख व्यक्तिको राशिअनुसार यो रङ्गको प्रयोग गर्न सकिन्छ। स्फटिकरङ्ग शुभ हुन्छ।

मिथुन र कन्या:

यी राशिको स्वामी बुध ग्रह हो। बुधको रङ्ग हरियो, खैरो, पहेँलो, गाढा हरियो र दुबो रङ्ग लगाएमा कार्यालय, घर, वाहनले सफलता प्रदान गर्दछ। मिश्रित कार्य, व्यापार, व्यवसाय र राशिअनुसार यो रङ्ग शुभ रहन्छ।

कर्कट

कर्कट राशिको स्वामी चन्द्रमा हो। चन्द्रमाको रङ्ग सेतो, दुधिलो, फिका सेतो मानिन्छ। कार्य व्यवसाय, राशिअनुसार रङ्गको प्रयोग गरी सुख, शान्ति, सफलता प्राप्त गर्न सकिन्छ।

सिंह

सिंह राशिको स्वामी सूर्य हो। सूर्यको रङ्ग रातो, सप्तरङ्गी, गुलावी मानिन्छ। कार्य, व्यवसाय, राशिअनुसार यो रङ्गको प्रयोग गरी सबै क्षेत्रमा सफलता प्राप्त गर्न सकिन्छ।

धनु र मीन:

यी राशिको स्वामी वृहस्पति हो। बृहस्पतिको रङ्ग सुनौलो, पहेँलो, सुँगारङ्ग र गाढा पहेँलो, बेसारे, केशरिया तथा मिश्रित मानिन्छ। कार्य, व्यवसाय र राशिअनुसार यो रङ्गको प्रयोग गरी उन्नति, प्रगति प्राप्त गर्न सकिन्छ।

मकर र कुम्भ:

यी राशिको स्वामी शनि हो। शनिको रङ्ग भनेको आकाशे, गाढा नीलो, हल्का नीलो, कालो, मिश्रित टाटेपाटे, छिर्केमिर्के, धर्के, हल्का ध्वाँसे मानिन्छ। यो व्यवसाय, कार्य, राशिअनुसार प्रयोग गरी सफलता प्राप्त गर्न सकिन्छ।

शैक्षिक संस्था स्कूल, कलेज, शैक्षिक परामर्श केन्द्रआदिमा सेतो र क्रिम रङ्ग शुभ हुन्छ भने हस्पिटल तथा स्वास्थ्य सेवाकेन्द्रहरुमा हल्का नीलो, हरियो, उज्यालो र मिश्रित रङ्ग शुभ हुन्छ। घरमा लगाउने रङ्ग भने हल्का सुनौलो, हरियो, मिश्रित रंग शुभ हुन्छ। गेटमा कालो रंग लगाउनुहुँदैन। वास्तुसम्मत र सम्पूर्ण प्राकृतिक सिद्धान्तलाई आत्मसात गरी रङ्ग लगाउने हो भने सुख, शान्ति, समृद्धि प्राप्त गर्न सकिन्छ। व्यवसायिक उन्नतिका लागि कर्पोरेट वास्तुकलालाई अनुशरण र उद्योग व्यवसायमा समुचित रङ्गको प्रयोगले प्रगति बढ्दै जाँदा राष्ट्रिय उन्नतिमा सफलताको शिखरमा पुर्याउन सहयोग गर्दछ।

कुनै प्रतिकृया प्राप्त भएको छैन
यस लेखको बारेमा केहि भन्नु छ? तपाईंको टिप्पणी थप्नुहोस् र छलफल सुरु गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *