”प्रत्यक्षं ज्यौतिषं शास्त्रं,चन्द्रार्कौ यत्र साक्षिणौ”
जन्म कुण्डली भनेको जातकको जन्मस्थान, जन्ममिति र जन्मसमय सहित खगोलीय एवं भूगोलीय अवस्थितिहरूको अभिलेख राखिने वैज्ञानिक दस्तावेज अर्थात् चिनारी नै जन्म कुण्डली या चिना हो, जसलार्इ ज्योतिषशास्त्री अथवा यस सम्बन्धी ज्ञान भएका गुरू, पुरोहित/पण्डितहरूको सहयोगमा बनाउन सकिन्छ ।
‘चिना’को अर्थ पनि व्यक्तिलाई चिनाउनु नै भन्ने हुन्छ । यो धर्तीमा मानिस जन्मेको आधारमा खगोलीय नक्षत्र, राशि एवं ग्रहहरूको स्थिति पत्तालगाई त्यसैको आधारमा गणितगरी तयार पारिएको राशि चक्रलाई आधार मानि बाह्र राशि र सूर्यादि नवग्रहहरूको उदय-अस्त, उच्च-निच, मार्गी-वक्री, डिग्री, देश, काल आदि सहितको अनुकूल प्रतिकूल के कस्तो ग्रहगोचरीय अवस्था लिएर व्यक्तिले जन्म लिएको छ भन्ने कुराको यथार्थ एवं गणित सिद्ध ज्ञान गराउने वस्तु भनेकै कुण्डली या चिना हो र त्यसै कुण्डलीको आधारमा फलादेश गर्न सकिन्छ । ग्रहको स्थितिलाई विचार गरी फलादेश गर्ने व्यक्ति गलत हुन सक्छ तर विद्या कदापि गलत हुन सक्दैन र हुँदैन पनि ।
जन्म कुण्डलीलाई बुझ्नको लागि सर्वप्रथम सौर्यमण्डल (Solar System)को बारेमा केही जान्नु आवश्यक छ । किनकि ज्योतिषशास्त्र आकाश मण्डलका अनगिन्ति तारा मण्डलहरू मध्यको केवल हाम्रो सौर्य मण्डलसँग मात्रै सम्बन्ध राख्दछ ।
आकाशमा यस्ता अनेकौं सौर्यमण्डल भएको वेद पुराणमा उल्लेख गरिएको छ । त्यसैले हाम्रो सौर्यमण्डलका सूर्य लगायत ९ ग्रहको जानकारी हुन जरूरी छ ।
हाम्रो ज्योतिष शास्त्रमा ९ ग्रह १. सूर्य २.चन्द्रमा ३.वृहस्पति ४. शुक्र ५. बुध ६.मंगल ७. शनी ८. राहु ९ केतु छन् । पाश्चात्य देशमा प्रजापति (Uranus) तथा बरुण (Neptune) लाई पनि ग्रहको रूपमा मान्दछन् तर हामी ९ ग्रहलाई मात्रै प्राथमिकता दिन्छौं किनकि पाश्चात्य ज्योतिर्विदले मानेका ग्रहहरू पृथ्वी भन्दा धेरै टाढा रहेका हुनाले त्यसको प्रभाव कम मात्रामा पर्दछ । हाम्रो ज्योतिषशास्त्रमा ९ ग्रहको अतिरिक्त २७ नक्षत्रको पनि महत्त्व छ । नक्षत्र ताराहरूको समुह हो । पृथ्वी सहित चन्द्रमा ग्रह तथा नक्षेत्र सूर्यको वरिपरी घुम्दछन् । पृथ्वी जुनमार्ग भएर सूर्यको परिक्रमा गर्दछ त्यसलाई क्रान्तिवृत्त (Ecliptic) भन्दछन् र यो मार्ग अण्डाकार छ ।
क्रान्तिवृत्तको उत्तर र दक्षिण दिशामा ९-९ अंशको एक कल्पित पेटी (Belt) खिचिएको छ । यो १८ अंशको भागलाई नै राशिचक्र (Zodiac) भनिन्छ । यो राशि चक्रको मान ३६०°मानिएको छ । पृथ्वी सहित अन्य ग्रह चन्द्रमा तथा नक्षत्र (तारा समूह) क्रान्तिवृत्तमा या त्यसको उत्तर दक्षिण दिशामा १२: १८ अंशको पेटीमा घुम्दछन् तथा विभिन्न समयमा सूर्यको परिक्रमा गर्दछन् ।
कुनै व्यक्तिको जन्म समयमा जन्म स्थानको आकाशमा राशिचक्र (Zodiac) को जुन नक्सा बन्दछ । त्यसैलाई जन्म-कुण्डली (Natal-Chart) भन्दछन् । कुण्डलीमा सूर्यचन्द्रमा ग्रह तथा नक्षत्रको स्थिति देखाएको हुन्छ ।