अाचार्य खेमराज केशवशरण
दान जीवनमा परिपालन गर्नुपर्ने यस्तो नैतिक मूल्य हो जसबाट मानव अमृततङ्खवको भागी बन्न सक्तछ । दान कुन मनस्थितिले गरिनु पर्दछ ? कस्तो दान आत्मालाई वन्धनमुक्त गराउने हुन्छ ? त्यसबारे मनन गर्न जरुरी छ ।
दान मानवीय चरित्रभित्रको कोमलतालाई व्यक्त गर्ने तथा करुणालाई प्रस्फुटन गराउने महत्तम मूल्य हो । व्यक्तिले समाजप्रति व्यक्त गर्ने सर्वोत्तम उपहार हो दानको भावना, केही न केही परहितको लागि अर्पित गर्ने भावना । संसारको सम्पूर्ण सृष्टिमा अरूको हितको लागि विचारपूर्वक केही उत्सर्ग गर्ने प्राणी मानव मात्र हो । त्यसैले मानवताका पोषक उदात्त मर्यादाहरूमा दानको भावनालाई सर्वोच्च रूपमा हेरिन्छ ।
सम्पूर्ण धर्मजगत् अनादिकालदेखि दानधर्मका अपरिमित उदाहरणहरूबाट भरिएको छ । आफ्नो व्यक्तिगत हितको दृष्टिले राज्य, स्वर्ग, मोक्ष अनि समस्त उत्तमोत्तम सुखस्रोतहरूलाई छोडेर दीनदुःखीहरूको दुःख निवारणलाई नै परम सुखको आधार स्वीकार्ने महामानवहरूका पावन गाथाहरूले समस्त आर्ष वाङ्मय नै भरिएको छ । महर्षि दधीचि, शिवि, राजर्षि रन्तिदेव, धर्मप्राण महाराज रघु, शीलादित्य, सम्राट हर्षवर्धन जस्ता सर्वस्वदानीहरूका प्रेरणादायी जीवन प्रसङ्ग भएका असंख्य दानवीरहरूका गाथा अतीतकालदेखि आजसम्म पनि मानव जातिमा देख्न, सुन्न, पढ्न पाइँदै आएको छ । वास्तवमा सृष्टिचक्रभित्र अर्काको निम्ति आफ्नो साधनबाट दान दिने दानशीलहरू पनि छन् र नै यो सृष्टि रसिलो छ, रमणीय छ ।
यो पृथ्वीलाई धारण गर्ने सात तङ्खवहरूको गणनाक्रममा दानवीरहरूको पनि गणना गरिएको छ । सृष्टिको प्रत्येक अङ्गमा दानको प्रवाह वगेको पाइन्छ । वृक्षहरू फल दिन्छन्, फूल दिन्छन्, छायाँ दिन्छन्, काठ दिन्छन्, दाउरा दिन्छन् । नदीहरू पानी दिन्छन् र प्यास मेटाइदिन्छन्, धर्ती सिञ्चिदिन्छन । धर्तीले गर्ने दानको त सीमा नै छैन । चन्द्र, सूर्य, आकाश, पवन, समुद्र, पर्वत सर्वत्र दानको पावन धर्म वगिरहेको छ । प्राणीमात्र सृष्टिमा केही न केही दान दिएरै जान्छन् । तर यी सबै दानहरू स्वयंको चेतनाले नभएर प्रकृति–प्रेरणाले भएका हुन्छन्, जवकी सर्वोच्च चेतनाको धनी मानिस सोचेर विचार गरेर सहानुभूतिसाथ दान दिने गर्दछ । अनन्त दान प्रवाह सृष्टिभित्र छ तर मानवले गरेका दानको चाहिँ महिमा गाइएको छ । महामानवका रूपमा दानवीरहरूका अमरगाथा गाइएका छन् । किनकि हृदयमा सद्भावना जन्माएर चेनतापूर्वक, ज्ञानपूर्वक, सहानुभूतिपूर्वक गरिने दानको सर्वोपरि महङ्खव हुन्छ । सृष्टिभित्रका अरू प्राणीले गर्ने दानप्रवाहमा यो चेतना छैन, ज्ञान छैन, सहानुभूति छैन । त्यो केवल प्रकृतिचालित छ ।
एकजना अर्वाचीन युगका सहृदय दानीको चर्चा प्रशंसनीय छ । बङ्गालमा ठूलो अनिकाल परेको थियो । मानिसहरू भोकले छट्पटाएर आफ्ना गाउँघर केही नभनी भाग्न थालिसकेका थिए । जति मानिस देखिन्थे, सबै याचक । मानिसहरू दुःखले रोइकराइ गरेर जीवन गुजारिरहेका देखिन्थे । यस्तैमा वर्दमान भन्ने ठाउँमा महामना ईश्वरचन्द्र विद्यासागरको सामु फाटेको लुगा लगाएको, कतिदिनदेखि खान नपाएर दुब्लाएको बालक आइपुग्यो । आउनाको कारण सोध्दा उसले बढो विनयी भाषामा विद्यासागरसँग प्रार्थना ग¥यो– हजुर ! मेरो आमा र म कतिदिनदेखि भोकै छौं । एक पैसा दिनुभए हामी पेटभर्न पाउने थियौं ।’ त्यतिबेलाको एक पैसाले अहिले एक रुपैयाँभन्दा बढी क्रयशक्ति राख्दथ्यो ।
ईश्वरचन्द्रले सोधे– ‘बाबु यदि मैले एक पैसाको सट्टा चार पैसा दिएँ भने तिमी के गर्छौ ?
केटाले भन्यो– ‘के गर्थे हजुर ! दुई पैसाले दुई जनालाई खान पुग्छ बाँकी दुई पैसा आमालाई दिन्छु ।’
‘अनि दुइआना दिएँ भने !’ विद्यासागरले सोधे । केटाले सोच्यो जिस्क्याउन पो लागेछन् । त्यसै फर्किन खोज्दै उसले भन्यो– ‘हजुर ! मजस्ता दरिद्र बालकसित परिहास गर्न हजुरलाई सुहाउँदैन । बरू नदिनेभए जान्छु ।’
‘मैले परिहास गरेको होइन बाबु ! मैले साच्ची नै चारआना दिएँ भने तिमी के गर्छौ त ?’ विद्यासागरले सोधे ।
‘ओहो ! चारआना ?’ बालकले गम्भीर मुद्रामा सोचेर जवाफ दियो– ‘हजुर ! त्यसोभए त मेरो जीविका नै चल्ने थियो । दुइआनाले राम्रोसँग आमाछोरालाई खान पुगिहाल्छ । दुइआनाका आँप लिन्छु र बेच्छु, गुजारा चलिहाल्छ ।’
विद्यासागरले केटालाई एक रुपैयाँ दिए । केटाको उत्पादक सोचाइले उनलाई निक्कै प्रभावित तुल्याएको थियो । त्यो घटना घटेको दुई तीन वर्ष वितेको थिए, विद्यासागरको त असहायहरूलाई मद्दत गर्ने नियम नै बनिसकेको थियो । उनलाई त्यो घटना उति याद पनि थिएन । एक दिन फेरि उनी वर्दमान गए । संयोगवश त्यसै ठाउँमा पुगेछन् जहाँ त्यो बालकले पसल थाप्दै थाप्दै निकै नै प्रगति गरिसकेको थियो । अब त ऊ ठूलो पनि भइसकेको थियो । एकजना युवकले आएर सादर प्रणाम गरेको ईश्वरचन्द्रले देखे । युवकले विनम्र स्वरमा आफ्नो पसलमा गइदिन प्रार्थना ग¥यो । विद्यासागरले भने युवकलाई चिनेकै थिएनन् । उनले ‘मैले तिमीलाई चिनिन त बाबू !’ भन्दा त्यस युवकका आँखाबाट आसु आए । उसले विद्यासागरबाट एक रुपैयाँ पाएर आफ्नो भविष्य बनाएको सम्पूर्ण बेलिविस्तार लगायो । एक रुपैयाँ पाएपछि उसले फेरीवाला पसलको व्यवसाय शुरु गरेको थियो र अहिले त ऊ निकै रहरलाग्दो पसलको धनी नै भएको थियो । आफूले दिएको सानो दानले पनि कसैको भाग्य बनेको देखेर विद्यासागरलाई असीम हर्ष भयो । त्यस युवकलाई उत्साहित तुल्याउन उनी कैयौं घण्टासम्म त्यस अतीतको स्नेहपात्रको पसलमा बसे ।
अरूको भविष्य बनाइदिन स्वयंको साधनबाट केही दान गर्ने यस्तै महामनाहरूका चरित्रले संसारमा मानवता सुरक्षित रहेको छ । मानवता सुरक्षित छ र नै कुनै पनि स्थितिमा धर्मको गौरव उज्जवल रूपमा रहिआएको छ । आफ्नो साधन र शक्तिलाई अरूको उत्थानमा सहयोगी भएमा नै सार्थक मान्ने यी मानवरत्नहरूका गाथाले दैवीसम्पत्तिको शाश्वत महिमा गाउँछन् ।
सज्जन र खराव बारे छुट्याउन नीतिकारहरूले एउटा सीमारेखा कोरेका छन् । त्यो सीमारेखाले भन्दछ– ‘खराव त्यो हो जहाँ विद्या विवादको लागि, धन शेखीको लागि, शक्ति चाहिँ अरूलाई सताउनको लागि हुन्छ । साधुको चाहिं यसको बिल्कुल उल्टो हुन्छ । जसको विद्या ज्ञानको लागि, धन दानको लागि र शक्ति चाहिं अरूलाई उठाउनको निम्ति हुन्छ त्यो नै साधु हो ।
विद्या विवादाय धनं मदाय शक्तिः परेषं परिपीठनाय ।
खलस्य साधोर्विपरीतमेतज्ज्ञानाय दानाय च रक्षणाय ।।
आसुरी सम्पत्तिले खल बन्नपट्टि र दैवी सम्पत्तिले साधुतापट्टि लैजान्छ । दान कति प्रकारले गर्न सकिन्छ ? कुन स्थितिमा गर्न सकिन्छ ? के सम्पन्नता आवश्यक छ दानको लागि ? यी प्रश्न उठ्छन् । तर दान विभिन्न प्रकारले गर्न सकिन्छ । सम्पन्नतामा पनि दान हुन्छ, गरीवीमा पनि दान हुन्छ । ५ लाखमा पनि दान हुन्छ र ५ पैसामा पनि दान हुन्छ । कल्याणकामनापूर्वक दिइएको एक पैसामा पनि निस्कामता र करुणाको भाव छ भने त्यो महादान हो । त्यसैले आफूसँग धेरै भए पो दान गर्नु ? भन्ने भनाइ बिल्कुलै स्वस्थ सोचाइको उपज होइन । दिन चाहने व्यक्ति जुन स्थितिमा पनि सम्पन्न हुन्छ । अनि दिन नचाहने जुन स्थितिमा पनि गरिबै हुन्छ । साथै दान दिने र लिने यी दुई सबैमा समान रूपले चलिरहनु पर्दछ ।
दिनेको वर्ग र लिनेको वर्ग बनेर लिनेलाई लिनेमात्र अधिकार, दिनेलाई दिनेमात्र कर्तव्य यस्तो वर्गगत रुढिग्रस्त रूप हुनुहुन्न । लिनुपर्छ तर दिनलाई । जसले दान पाएको छ, त्यसले पनि अरूलाई आवश्यकता अुनरूप त्यसैगरी दान दिनुपर्छ । अनि दैवी सम्पत्तिको अनुसरण हुन्छ, हामीसँग जे छ त्यो अरू निम्ति पनि पुग्नुपर्छ । धन होस्, बल होस्, बुद्धि होस्, भावना होस्, अरूको कल्याणको निम्ति त्यसको दान हुनु आवश्यक छ । अन्नदान, बस्त्रदान, बलदान, बुद्धिदान, विद्यादान, सेवादान । दानको अनेकौं रूप हुन्छन् र अनेकौं रूपबाट हामीले दानी बन्ने प्रयत्न गर्नु पर्छ । समाजमा बसेपछि हामी केही न केही त दिइरहेका हुन्छौं । तर राम्रै कुरा दिनसक्ने कोशिश रहनुपर्दछ, नराम्रो होइन । यसैलाई साधना भनिन्छ । हरेक कुरामा जब राम्रोपट्टि हाम्रो आकर्षण बढ्दछ अनि हामीलाई साधनाको दिशामा प्रगति गर्ने शक्ति प्राप्त हुन्छ । हामी दैवी सम्पत्तितिर अगि बढ्छौं । स्वयंप्रति राम्रो गरौं, अरूलाईराम्रो दिऔं ।
दानमा प्रत्युपकारको भावना सबैभन्दा निकृष्ट मानिन्छ । मैले यति दिँदा त्यसले भरे मलाई के देला ? यो दान होइन; सौदागिरी हो । भगवान् श्रीकष्णले भगवद्गीताको एघारौं अध्यायमा ‘मलाई दानले पाउन सकिन्न’ भन्नुभएको छ । त्यो यस्तै स्वार्थप्रेरित दानलाई लिएर भन्नुभएको हो । जुन दान निष्कामतासाथ गरिन्छ, फलाशा त्यागी प्रभूसेवाको भावनाले गरिन्छ, त्यो दान त पावन छ । अठारौं अध्यायमा भगवान् नै भन्नुहुन्छ– यज्ञो दानं तपश्चैव पावनानि मनीषिणाम । पहिले मनिषी बनौं र दान दिऔं, बुझेर निष्कामतासाथ दान गरौं । हामी साँचो मानेमा बाँचिरहेका हुनेछौं ।
गाैरी २०७५ भदाै अंकबाट साभार