आजबाट दशैं प्रारम्भ यसवर्षको घटस्थापना जमरा राख्ने साइत –

आश्विन शुक्लप्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पन्न गरिन्छ । एक कृत्य यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरि देवीदेवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर या आफूँलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजिकै माटोको विशुद्ध जलपूर्ण घडा ९ कलशको वरिपरि नौवटा देविको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार) महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजार्चना गरिन्छ । ब्रह्मवैवर्त पुराण भन्ने ग्रन्थका अनुसार वर्णन गरिएका नवदुर्गाहरू यी हुन् : – (पूर्व,–चण्डिका)(आग्नेय, –भद्रकाली)(दक्षिण,–सर्वमङ्गला)(वायव्य, –वैष्णवी)( उत्तर,–शिवप्रिया)(ईशान, – जगदम्बिका)( जल, थल र आकाश) । यी नामहरूले दुर्गाहरू विभिन्न दिशाका अधिष्ठात्री देवीहरू भएको कुराको जानकारी पाइन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन् जुन कुरा कालिका पुराणमा उल्लेख भएको छ । यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ । नवदुर्गाको नौ दिनसम्म नौ भवानीहरुको पूजा गरिन्छ । प्रथम दिन –माता शैलपुत्री । दोस्रो दिन–ब्रह्मचारिणी । तेस्रो दिन– चन्द्रघण्टा । चौथो दिन – कुष्माण्डा । पाँचौ दिन –स्कन्दमाता । छैंठौं दिन –कात्यायनी । सातौ दिन –कालरात्री । आठौं दिन – महागौरी । नवौं दिन – सिद्धिधात्री गरी नौ देवीहरुको पूजा गरी दशौै दिन हर्ष उल्लासका साथ विजयदशमी मनाउने गरिन्छ ।


यस वर्षको घटस्थापना


पहिलो दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घर-घरमा र देवीका मन्दिरहरूमा पहिलो दिन कै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती (चण्डी) स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ । यस वर्षको घटस्थापना जमरा राख्ने साइत पञ्चाङ्ग निर्णायक समितिका अनुसार आश्विन १२ गते बिहान १०ः३५ मिनेटमा रहेको छ । तामाको घडा वा माटाको घडामा गोबर टाँसेर जौ गाडिन्छ । दीयो,कलश,गणेश स्थापना गरी पूजा गर्नुपर्दछ । धनी गरीब सबैले कसेसम्म फुर्सद निकाली दुर्गाको आराधना गरी आनन्द मनाउनुपर्दछ ।


जमरा र घडाको महत्व
घडामा गोबर टाँस्नुको कारण के हो भने गोबरका धेरै प्रकारका गुण हुन्छन् र पवित्र पनि हुन्छ । गोबर रहेको वा गोलाकार गरी गोबरले पोतेको ठाउँमा भूत प्रेत आदि आउन सक्दैनन् । साथै गोबर पञ्चगव्यको एक अंग पनि रहेको छ । गोबरमा अनेक किसिमका किटाणु नाश गर्ने शक्ति रहेको हुन्छ । सकेसम्म माटोको घडामैं गोबर टाँस्नु उचित हुन्छ किनकि माटो पृथ्वीको अंग हो । क्षमा गर्ने शक्ति र सहनशीलताको गुण पृथ्वी मैं रहेको हुन्छ । साथै माटो पाप हटाउने शक्ति पनि हो । जौ लाई गाड्नु र यसकै जमरा राख्नुको मूख्य कारण जमरा सर्वौषधी हो । जौ अन्नको राजा पनि हो । जौ विष्णुलाई प्यारो पनि अुन्छ । त्यसकारण मंगलकार्यमा जौ को गुण धेरै भएका कारण माता भगवतीलाई फूल मालाको रुपमा त्यही जमरा प्रसादको रुपमा लाउने गरि आइएको हो ।

यस वर्षको दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिनकै भएकाले शक्तिको साधनाका लागि राम्रो योग परेको छ । विगत वर्षमा कुनै तिथि घटबढ हुँदा दुर्गा पक्ष १४ दिन वा त्योभन्दा पनि कम हुने गथ्र्यो । यस वर्ष १५ दिनको दसैं भएकाले देवीको आराधना गर्नका लागि राम्रो अवसर जुटेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

कुनै प्रतिकृया प्राप्त भएको छैन
यस लेखको बारेमा केहि भन्नु छ? तपाईंको टिप्पणी थप्नुहोस् र छलफल सुरु गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *