नवरात्रीको दोस्रो दिन ब्रह्मचारिणीको पूजा र साधनाको फल

ब्रह्मचारिणीको पूजा

‘वन्देस्तुभ्यं तपोब्रह्म ‘ अर्थात् वन्दे अर्थ र तप भनेर ब्रह्म शब्दको अर्थ गरेको देखिन्छ। हिमालयका घरमा पुत्रीका रुपमा उत्पन्न भएकी शैलजा माताले नारदको उपदेश अनुसार भगवान शंकरलाई पतिको रुपमा प्राप्त गर्न कठोर तपस्या गर्नुभयो एक हजार वर्षसम्म फलफुलमात्र खाएर,सयवर्ष सम्म सागमात्र खाएर , कयौं दिनसम्म निराहार भएर , झरी बादल वर्षा केही नभनिकन खुला आकाश मुनि रहेर तीनहजार वर्षसम्म आफै झरेका बेलपत्रको सेवन गरेर अत्यन्त कठिन तपस्या गर्नुभयो । कठोर तपस्या गर्नाले दुब्लाएकी मातालाई ध्यान भंग गर्नका लागि माता मेनुकाले प्रयास गर्दा उमा त्यस्तो होइन भनेका कारण शैलजाको नाम उमा पनि रहन गएको हो ।

दधानाकरपद्याभ्यामक्षमालाकमण्डलू ।
देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ।।

यस दिन पहिलो दिन जस्तै दियो, कलश र गणेशको पूजा गरी ‘ब्रह्मचारिणी’स्वरूपा दुर्गा भवानीको पूजा गरिन्छ। जमराको पूजा गरी जल सिञ्चन गर्ने क्रम नवरात्रभर रहन्छ। ब्रह्माको आचरणमा रही कठोर तपस्या गरेकी र शिरमा अर्धचन्द्र तथा नाना प्रकारका आभूषण धारण गरेकी हुनाले ब्रह्मचारिणीको पूजाआराधना गरिएको मान्यता छ। उनले हिमालय कन्याको रूपमा जन्मिएर भगवान् शिवलाई पति पाऊँ भनि तपस्या गरेकी थिइन्। ब्रह्मचारिणीको आराधना गर्नाले आयु, शक्ति, भौतिक सुख तथा दाम्पत्य जीवन सुखी रहने बताइन्छ। उनलाई वैज्ञानिक दृष्टिले आकर्षण तथा चुम्बकीय शक्तिको स्वरूप मानिन्छ। यस दिन तीन वर्षकी कन्यालाई ‘त्रिमूर्ति’ देवीका रूपमा कुमारीपूजा गर्ने चलन छ। ब्रह्मचारिणीलाई विशेष रूपमा काँइयो, धागो र चोलाको कपडा चढाउनुपर्ने मान्यता छ।

नवरात्रको दोस्रो दिन भगवती दुर्गाको ब्रह्मचारिणी रुपको ध्यान र पूजागर्ने गरिन्छ ।सतीदेवीको देह त्यागपछि पार्वतीको जन्म हिमालयको घरमा हुन्छ । भगवान् शिवजीलाई पतिको रुपमा पाउन हिमालय पुत्री पार्वतीले कठोर तपस्या गर्नुहुन्छ । त्यस्तो तपस्याको आचरण गर्ने भएकी हुनाले शैलपुत्रीको अर्को नाम ब्रह्मचारिणी भएको हो ।

साधनाको फल

मानिसहरु ब्रह्मचारिणीको ध्यान स्वाधिष्ठान चक्रमा लगाउने गर्दछन् । ब्रह्मचारिणी देवी सेतो वस्त्र लगाएकी, दाहिने हातमा जपमाला लिएकी , वायाँहातमा कमण्डलु धारण गरेकी, दिव्य स्वरुपको ध्यान गर्नाले साधकलाई सदाचार,तप,त्याग,वैराग्य,संयम र ऐश्वर्य प्राप्त हुन्छ । संघर्षमय जीवनमा ब्रह्मचारिणीको उपासना बढी श्रेयस्कर हुन्छ । साधकलाई यथाशीघ्र फलप्राप्ति यही रुपको ध्यान गर्नाले प्राप्त हुन्छ ।

कुनै प्रतिकृया प्राप्त भएको छैन
यस लेखको बारेमा केहि भन्नु छ? तपाईंको टिप्पणी थप्नुहोस् र छलफल सुरु गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *