प्रेम र स्नेहको पर्व – हरितालिका तीज

  सनातन हिन्दू संस्कृतिका विविध पक्षमध्ये गार्हस्थ जीवन चलाउने सशक्त पक्ष हो। वैवाहिक जीवनको सार्थकताका निम्ति हाम्रो संस्कृतिमा विभिन्न प्रकारका आधारशिलाहरु रहेकाछन्। पति-पत्नीबीचको सम्बन्धलाई सशक्त बनाउन हाम्रो संस्कृतिमा विभिन्न नियम र परिधिहरु छन् । सुख आत्मिक शान्ति, आपसी सद्भाव,परस्पर समन्वय, व्यवहारिक संयोजन परिपालन र विश्वासको आधार खडा गर्न अनुकुल र उपयोगी हुने विधि-विधान नै हाम्रो संस्कार र संस्कृतिको मूल विशेषता हो । हिमालयदेखि सिन्धुको त्यो तटसम्मका हरेक प्राकृतिक श्रोत र साधनले यसलाई पुष्टि गरिरहेका छन् । प्रकृति र पुरुषबीचको शास्त्रीय विधि तथा सामाजिक व्यवहार अनुसार बाँधिने जुन दाम्पत्य सम्बन्ध छ । यसै सम्बन्ध र गरिने व्यवहार अनुरूप हाम्रा चाड पर्व संस्कार र संस्कृति, परम्परा रीतिरिवाजको परिकल्पना गरिएको छ ।

     गृहस्थ जीवनमा जन्मान्तर सम्बन्ध प्रणयसूत्रको पवित्रता, कन्यादानको श्रेष्ठता, नारीको तपोमय सहयोग , जायापदको प्रतिष्ठा, स्त्रीलाई प्रसन्न गर्ने प्रयत्न र दाम्पत्य भावको एकरूपता यी सात सूत्रबाट नारीसंगको प्रणयबन्धन बाँधिएको हुन्छ । नर र नारीको यो सम्बन्ध जन्मान्तरदेखि नै योजनात्मक हुन्छ भन्ने मान्यता रहेको छ । दाम्पत्य भावका सूत्रहरुले हाम्रो समाजलाई भावनात्मक स्पर्श गरेको छ । जसको निर्वाह स्त्रीजातिले समय समयमा गर्दै आएका छन् । 

    हरितालिकाको व्रत पनि यसै सम्बन्धको क्रियात्मक निर्वाहको मूर्तरुप हो । जसलाई आफ्ने दक्षता अनुसार पालना गर्दै आएका छन् । भगवान् शिवको आराधना यो पर्वमा अविवाहित कन्याहरुले सुन्दर पनि प्राप्त होस् भन्ने कामना गर्दछन् । महिलाहरुमा पतिव्रता चरित्रको एउटा सशक्त उदाहरुणको रुपमा यसलाई लिन सकिन्छ । शुरुमा यो व्रत पार्वतीले गर्नुभएको थियो । पर्वतराज हिमालयले पुत्री पार्वतीको विवाह भगवान् विष्णुसंग गरिदिने विचार गर्नुभयो । पार्वती शिवलाई पतिको रुपमा प्राप्त गर्न चाहन्थिन् । हिमालयको विचार थाहा पाएर सखीहरुद्वारा पार्वतीको हरण भयो । व्रतको समयमा हरण भएको हुँदा व्रतको नाम हरितालिका रहन गएको शास्त्रहरुमा उल्लेख छ । यस व्रतका प्रभावले पार्वतीले महादेवलाई पतिको रुपमा प्राप्त गर्नुभयो । यहि विधि अनुसार यस पर्वमा महादेव र पार्वतीको पूजा आराधाना गर्ने गरिन्छ अभिष्ट  वरप्राप्ति र विशुद्ध दाम्पत्य जीवनको अभिलाषा राखेर स्त्रीहरु पानी पनि नखाईकन यो कठोर तप गर्दछन् । द्वेष , दुर्भावना, कलह एकअर्काप्रतिको अविश्वास र असन्तुष्टिका विरुद्ध मेलमिलापको भाव सन्तुष्टि र एकअर्काप्रति सहयोगी भावको कामना गर्दछन् । महिलाहरु आफ्नो सौभाग्यसूचक चूरा,धागो,पोते, सिन्दुर, टीका तथा रङ्गीचङ्गी वस्त्र पहिरेर विभिन्न शिवमन्दिरमा गई शिवको आराधना गर्दछन् । आधुनिक विकृति र विसङ्गतिका विरुद्ध यस व्रतको औचित्य बुझेर जीवनमा अवलम्बन गर्नु आवश्यक छ । भाद्र शुक्ल तृतीया तिथिका दिनमा मनाइने यो पर्व विशेष गरेर स्त्रीहरुले मनाउने चलन रहिआएको छ । यस पर्वमा पुरुषहरुले पनि व्रत बस्ने विधान रहेको छ । महिलाहरुमा पतिव्रताका चरित्रको एउटा सशक्त उदाहरणका रुपमा यसलाई लिन सकिन्छ । यसमा पतिले आफ्नी पत्नीको सुस्वास्थ्य, दीर्घायुको निम्ति यस पर्वको व्रत बस्ने विधान रहे  तापनि व्यवहारमा भने त्यत्ति पाइदैन । यद्यपि आजभोलि पुरुषहरुले पनि यस पर्वलाई मनाउन थालेको देख्न सकिन्छ । प्रकृति (स्त्री) र पुरुषको तालमेल मिलाउने हो भने दुबैको बराबर आवश्यकता र उपयोगिता रहेको हुन्छ । प्रकृतिले पुरुषका निम्ति निःस्वार्थ कुनै कर्म गर्दछिन् भने पुरुषले पनि प्रकृतिका लागि राम्रो कर्म गर्नु आवश्यक हुन्छ । 

    पार्वतीले यो व्रत गरेर शिवलाई पतिको रुपमा प्राप्त गरेकी हुँदा सम्पूर्ण स्त्रीहरुले यसै विधि अनुसार असल पति र पुरुषहरुले सुशिला पत्नी प्राप्ति गर्ने मनोकामनानुसार यो व्रत गर्ने विधान रहेको छ । हरितालिका तीजको व्रतका प्रभावले अविवाहितालाई असल पति प्राप्त हुने र विवाहिता नारीहरुका पतिलाई सुस्वास्थ्य दीर्घायू प्राप्त हुने जन विश्वास पनि रहेको छ । शिव र पार्वतीले सर्वप्रथम आफै अनुष्ठान गरी तयार पारिएको त्याग र समर्पणभावयुक्त यस तपस्याका प्रभावले सम्पूर्ण उपासक वर्गमा सुख, शान्ति, समृद्धिको कामना गर्दछौ। 

  तीजको व्रत गर्न श्रम साध्य रहन्छ । हरितालिका व्रतहरुमा कठिन व्रतको रुपमा बुझिन्छ । यस व्रतमा फलफूल,कन्दमूल र जल ग्रहण गरेर बस्न सकिन्छ । केही दिदीबहिनीहरु निराहार पनि बस्ने गर्दछन् । निराहार बस्दा स्वास्थ्यमा ध्यान दिनुपर्दछ । आजभोलि दरखाने नाममा पर्व आउनु अगाडी नै घर घरमा जम्मा भएर खर्चिलो खानपानको योजना गरिन्छ । व्रतमा फलफूल , कन्दमूल आदि खान सकिने पार्वतीको प्रसङ्गबाट थाहा हुन्छ । व्रत पछि शारीरिक पुष्टिका लागि विभिन्न पौष्टिक आहारहरु खाने विधान रहेको छ । लोकाचार अनुसार घरबाट माईत गएकी छोरीको सत्कार गर्न विभिन्न प्रकारका खाद्यान्न तुल्याएर ख्वाउने र यसैलाई दर भन्ने गरिएको मानिन्छ।

कुनै प्रतिकृया प्राप्त भएको छैन
यस लेखको बारेमा केहि भन्नु छ? तपाईंको टिप्पणी थप्नुहोस् र छलफल सुरु गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *