सोह्रश्राद्ध के हो र कसरी गरिन्छ ? यसका नियमहरू के–के छन् ?

पितृपक्ष अर्थात् सोह्रश्राद्ध ।

 १६ दिनसम्म हाम्रा पितृहरु पृथ्वीलोकमा आउने समय । यहि कारणले गर्दा देवघाट,गोकर्णेश्वर र रिडी आदि धार्मिक स्थलहरुमा भारी रुपमा श्राद्ध गर्नेहरुको भीड देख्न सकिन्छ । भनिन्छ यहाँ पितृहरुको पिण्ड एवं तर्पण गर्नाले पितृहरुको मोक्ष हुने गर्दछ । तर के कारण छ जसले गर्दा सोह्रश्राद्धको समयमा यी स्थानहरुको महत्व अझै बढेर जान्छ ? आखिर के हो पितृपक्ष ? यो पक्ष कहिले आउँछ ? र यसमा खास के के हुन्छ ? जुनकुरा श्राद्धकर्ताले जान्न जरुरी छ । आउनुहोस् एकपटक बुझौं ।

  पितृपक्ष अर्थात् दिवंगत आत्माको शान्तिका लागि प्रार्थना गर्ने १६ दिन । जुन दिनहरुमा पिण्डदान र तर्पण गरी विशेष रुपले पितृको स्मरण गर्ने गरिन्छ । पितृ रिसाए घर परिवारको जीवनमा खुसियाली रहन सक्दैन । विभिन्न किसिमका समस्या आइपर्दछन् । यसै कारणले गर्दा वर्षको १६ दिन जब पितृ पृथ्वीलोकमा आउछन् त्यतिखेर उनको आत्माको शान्ति एवं मोक्षका लागि श्राद्ध गर्न आवश्यक छ । श्राद्ध त्यो कर्म हो जसको माध्यमबाट पितृहरुको तृप्तिका लागि भोजन पठाइने गर्दछ र पिण्डदान र तर्पण गरेर उनको आत्माको शान्तिका लागि कामना गरिन्छ ।

कहिले आउँछ पितृपक्ष ?

पितृपक्षको शुरुवात भाद्र शुक्लपक्षको पुर्णिमादेखि सुरु भएर आश्विन कृष्णपक्षको आमावस्या (औशी)मा गएर समापन हुन्छ । अर्थात्  पितृपक्ष १६ दिन चल्दछ ।

कहिले गर्ने श्राद्ध ?

भनिन्छ जुन तिथिमा उक्त मनुष्यको मृत्यु भएको छ त्यही तिथिमा  पितृको  श्राद्ध गर्नुपर्दछ । अर्थात् कुनै व्यक्तिको मृत्यु तृतीया तिथिमा भएको छ भने श्राद्धपक्षको समयमा पर्ने तृतीया तिथि मै त्यस पितृको श्राद्ध गर्नुपर्दछ ।

श्राद्धको नियम

– पितृपक्षको समयमा हरेक दिन तर्पण गर्नु विशेष मानिन्छ ।

पानी,दुध,जौ,चामल र गंगाजल मिसाएर बनाएको तर्पण राम्रो मानिन्छ ।

– पिण्डदानमा दुध र तिल मिलाएर दिनुपर्दछ ।

– श्राद्धको समयमा कुनैपनि शुभकार्य विशेष पूजा–पाठ र अनुष्ठान गर्नुहुदैन ।  घरको हकमा भने गर्न सकिन्छ ।

– श्राद्धको समयमा पान खानु, तेल लगाउनु,सम्भोग गर्नुलाई पनि निषेध गरिएको छ । यसबीच ब्रह्मचर्यको पालन गर्नुपर्दछ ।

– रंगिन एवं वास्नादार फूलको प्रयोग नगर्ने ।

– पितृपक्षमा चना,मसुरो,भाण्टा,हींग,सलगम,मासु,लसुन,प्याज र कालो नुन खान पनि निषेध छ ।

– यसबीचमा नयाँ कपडा,नया भवन, गहना, वाहन वा अन्य महंगा सामान किन्नु शुभ मानिदैन , यो बीचमा यस्ता कुनैपनि काम नगरौं ।

श्राद्ध कर्म विधि अथवा श्राद्ध पूजा विधि:

– श्राद्धको दिन पवित्र मनले उठेर नित्यकर्म गरेर खाना बनाउनु पर्दछ ।

– जसको श्राद्ध छ उसलाई मनपर्ने खालको खाना बनाउनु उपयुक्त हुन्छ ।

– श्राद्ध घरको कुनै पुरुष सदस्यद्वारा गराउन पनि सकिन्छ वा ब्राह्मणलाई बोलाउन पनि सकिन्छ ।

– याद राखौं श्राद्धमा लसुन प्याजको प्रयोग न गरौं ।

– तर्पण र पिण्डदान गरिसकेपछि पुरोहितलाई भोजन गराई दक्षिणा अवश्य दिऔं  ।

– ब्राह्मण भोजपछि पितृहरुलाई धन्यवाद दिऔं ।  जान अन्जानमा भएका गल्तिको माफी मागौं ।

– यसपछि  सपरिवार बसेर एकसाथ भोजन गरौं ।

यी स्थानमा हुन्छ श्राद्ध

  त्यसो त पितृको तर्पण जहाँपनि गर्न सकिन्छ तर हाम्रो देशमा केही खास पौराणिकस्थल त्यस्ता छन् जहाँ श्राद्धको दृष्टिकोणबाट हेर्दा उत्तम छन् र महत्वपूर्ण पनि । यसमा हामीले निम्नलिखित स्थानलाई लिन सकिन्छ । गोकर्णेश्वर, देवघाट, रिडी,उत्तरगया,उत्तरवाहिनी,चतराधाम, कौशिकी नदी आदि पर्दछन् । यद्यपि यसको अभाव ठूलो संख्यामा भारतका गया, हरिद्वार, बद्रीनाथ, गंगासागर, जगन्नाथपुरी जस्ता ठाउँमा पनि श्राद्ध गर्नका लागि उत्तमस्थान मानिएको छ ।

कुनै प्रतिकृया प्राप्त भएको छैन
यस लेखको बारेमा केहि भन्नु छ? तपाईंको टिप्पणी थप्नुहोस् र छलफल सुरु गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *