श्राद्ध के हो? किन गरिन्छ? कसरी गरिन्छ? कहिले गरिन्छ?
यी मूल प्रश्नहरु छन् हाम्रा सामु। आश्विनकृष्णपक्ष पूरै १५ दिन पितृपक्ष हो। यसलाई सोह्रश्राद्ध भनिन्छ। पूर्णिमासम्मको गिन्तिले यो १६ दिनको भए पनि वास्तवमा सोह्रै दिन पूरा हुन्न। श्राद्धको परिचय गर्नु पर्दा मूलतः श्राद्ध भनेको श्रद्धा नै हो। आफ्ना दिवंगत पितृहरुको उद्धार, उनीहरु प्रतिको समर्पणभाव र उनीहरुप्रतिको श्रद्धाभाव हो। आफ्ना पिता, माता र पूर्खा बिना यस धर्तीमा उदय असंभव भएको र उनीहरुकै प्रेरणा पाएर, उनीहरुकै लालन, पालन र उचित शिक्षाको प्रबन्ध भएरै सन्ततिहरु अघि बढेका हुन्छन्। विशेषज्ञ सेवा पाएर डाक्टर, वकिल, इन्जिनियर, पत्रकार, लेखक, साहित्यकार, प्रशासक, नेता र उच्च वर्गदेखि सारा मानवजीवन संचालन भैरहेको हुन्छ। इतिहास र पूर्वजको संस्मरण बिना आजको सुरु र भविष्यको समुन्नत सुखको कल्पना निरर्थक हुन्छ। दिवंगत पितृहरुले जीवमा ८४ लाखमध्ये कुनै न कुनै प्राणीमा उनीहरुले देह धारण गरेका हुन्छन् र तत्तत् योनिका खाना स्वरुप आ–आफ्ना दिवंगत पितृहरु तृप्त हुन्छन् र देवत्वमा प्राप्त गरेका पितृहरुले पनि आफ्नो सन्ततिवाट केही आशा गरेका हुन्छन्। त्यसैले समय र स्थान विशेष परिवर्तन र वातावरण अनुकूल नभएकै कारण देखाई पुत्रहरुले पितृप्रति गरिने कर्म लोप गर्न मिल्दैन। पितृदेवताको उपासना गर्नै पर्ने हुन्छ।
अहिले पितृपक्ष चलिरहेको छ । सबैको घर घरमा श्राद्ध छ । तपाई पनि कुन कुन सामग्री चाहिन्छ भन्ने अन्योलमा हुनुहुन्छ भने हामीले तपाइको अन्योलता हटाउने प्रयत्न गरेका छौं ।

महालय श्राद्ध (पार्वण श्राद्ध) मा चाहिने पुजन सामग्रीहरु
पूजाको सरजाम भाग ४, दियो बाल्न १ टपरी चामल, ५ भाग ब्राह्मण कुशको टुक्रा ७०, मोटक १००, औंठी दुई , धुपबत्ती, मूलबत्ती, तिनसुतेबत्ती, कर्मपात्र २ , अर्घ १, खगौतो १, विष्णुपादुका, जनै ६, सुपारी ५, पञ्चपात्र , आचमनी, बालुवा, पानको पात,फलफुल, केरा, गहुँको पक्वान्न, मासको बारा, ५ भाग सिधा,( सीधा, आदि धेरै चाहिन्छन् र कतिपय स्थानहरुमा प्रचलन अनुसार राख्ने विधि पनि रहि आएको पाइन्छ । ) पिण्डको लागि चामल, सेतो पिण्ड,वस्त्र कपुरबत्ती, चन्दन केसरी, अक्षता जौ, तिल सेतो, पहेंलो, फूल गाईको दूध,दहि,घ्यू, मह, चिनी, स्मृतिसारमा बताइए अनुसार पितृलाई मनपर्ने फुलहरु दुबो, टक्करको फूल र पात आदि ।
१६ श्राद्ध नै किन आवश्यक छ ?
पार्वणश्राद्ध यसकारण पनि जरुरी छ कि पार्वणश्राद्ध नगरेका घरमा तत्कालै सुरु हुने नवदुर्गापक्षको कर्म, जमरा राख्ने कार्य आश्विनशुक्लपक्ष भरि गरिने कर्म निषेध गरिएको छ। यसर्थ देवता वा शक्तिको उपासना गर्ने क्रमको पूर्वसन्ध्या पनि पितृपूजन जरुरी भएको हो। देवपूजनमा हामी विश्वास गर्छौ पितृपूजा भनेको अतीतसंग गाँसिएको छ। पूर्खाले धन छोडेर नगएको कारण देखाई यसप्रति कम श्रद्धा हुनु राम्रो होइन। आज भोलिको बिग्रदो वातावरणको कारण श्राद्ध गरिसकेपछि वस्तुहरु विसर्जन गरिने ठाँउको अभाव देखिनु अाँफैमा दुःखलाग्दो कुरा हो।